सांस्कृतिक जागरणसहित संस्कार शिक्षा सिकाउँदै दिव्य श्री एकेडेमी

काठमाडौँ अभिभावक र विद्यार्थीहरूले भरिभराउ विद्यालय प्राङ्गण,सांस्कृतिक नृत्य प्रस्तुतिका लागि विभिन्न भेषभुषामा तम्तयार विद्यार्थीहरू,अभिभावकसँग लुट्पुटिरहेका केही थान साना विद्यार्थीहरू । 

कुशे औँशीको पूर्व सन्ध्यामा शनिवार मध्य दिउँसो काठमाडौँको थलीस्थित दिव्य श्री एकेडेमीमा देखिएको दृश्य हो यो । आफ्ना छोराछोरीको प्रस्तुतिको पालो कुरिरहेका अभिभावक निकै चाखपूर्ण ढङ्गले प्रस्तुतिहरू नियालिरहेका थिए । 

कुशे औंशी र तीज विशेष सांस्कृतिक कार्यक्रममा पर्वसंगति गीतहरूमा विद्यार्थीहरूले आफ्नो दमदार नृत्य प्रस्तुत गरे । साना कक्षामा पढ्ने विद्यार्थीहरूले कुशे औंशी  र तीजको अवसरमा शुभकामना सन्देश सुनाए । व्यवहारिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेको दिव्य श्री एकेडेमीले संस्कार शिक्षालाई पनि अग्रणी गरेको छ ।

विभिन्न चाड,पर्वको अवसरमा कार्यक्रमहरू गर्दै विद्यार्थीहरूलाई पर्वअनुसारको संस्कार सिकाइरहेको छ । शनिवार अभिभावकहरूलाई बोलाएर विद्यालयले कुशे औँशी (बुवाको मुख हेर्ने दिन) मनाएको छ । आ-आफ्ना अभिभावकलाई मिठाइ र खादा लगाएर सम्मान गरेको छ ।

विद्यालयले अभिभावकहरूको मनोरञ्जनका लागि महिला अभिभावकलाई रोटी बेल्ने र पुरुष अभिभावकहरूलाई म्युजिकल चियर कार्यक्रम आयोजना समेत गरेको थियो । संस्कार विनाको शिक्षा व्यर्थ शिक्षा रहेको दिव्य श्री एकेडेमीका निर्देशक कमल चौहान बताउँछन् । उनी व्यवहारिक ज्ञानसहितको संस्कार शिक्षा दिव्य श्री एकेडेमीको पहिलो प्राथमिकता रहेको बताउँछन् ।

अभिभावकहरूसँग उनी भन्छन्,'हामीलाई एउटा बच्चा दिनुहोस्,हामी देशको असल नागरिक उत्पादन गर्छौँ ।' कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी नगरपालिकाकी उपप्रमुख शान्ता थापाले विद्यार्थीहरूको प्रस्तुतिले आफू हर्षित भएको बताइन् । विद्यालयको गतिविधिले असल विद्यार्थी उत्पादन हुनेमा उनले विश्वास व्यक्त गरिन् । 

कुशे औँशी,हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै अभिभावकहरूले पनि असल संस्कार दिनुपर्नेमा जोड दिइन् । विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र चौलागाईं पर्वहरूले आम नेपालीहरूलाई एकआपसमा जोड्ने बताउँछन् । पर्वहरूको ज्ञान र संस्कार मासिँदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

नयाँ पीढीलाई असल संस्कारबाट देशको परिवर्तन अवश्यम्भावी रहेको उनको बुझाइ छ ।