निजामती सेवाका कर्मचारीलाई जपानले अध्ययन गर्न छात्रवृत्ति सहयोग गर्ने

काठमाडौँ नेपालका निजामती सेवाका कर्मचारीलाई जापानले त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित नेरु रु. ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ ।
 सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा। रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले अर्थ मन्त्रालयमा हस्ताक्षर गरेका छन् ।  सो अवसरमा अर्थमन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

उक्त संझौता अनुसार नेपालका युवा निजामती सेवाका कर्मचारीलाई जापानको विश्वविद्यालयमा दुईवर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधि अध्ययन गर्नका निम्ति छात्रवृत्ति सहयोग प्राप्त हुनेछ । ‘मेरिट’का आधारमा निजामती सेवाका कर्मचारीमध्येबाट इच्छुक कर्मचारी अध्ययनका लागि जापान जानेछन् । राससका अनुसार यस वर्ष २० जना स्नातकोत्तर र दुईजना विद्यावारिधि गरी २२ कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिने सो अवसरमा जानकारी दिइयो ।