त्रिविमा सरकार संरक्षित गुण्डागर्दीविरुद्ध अखिलको प्रदर्शन

काठमाडौँ नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा गरिएको राजनीतिक हस्तक्षेप तथा सरकार संरक्षित गुण्डागर्दीविरुद्ध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी)को विश्वविद्यालय समितिले आइतबार उपकुलपतिको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा अखिल (क्रान्तिकारी) का विश्वविद्यालय तथा सीटीइभीटी इन्चार्ज उषाकिरण आजादले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र गुण्डागर्दी बन्द गर्नुपर्ने बताए ।

वर्तमान केपी शर्मा ओली सरकारले त्रिविमा गरेको राजनीतिक हस्तक्षेप र गुण्डागर्दी बन्द नगरे आफूहरू त्यसका विरुद्ध संघर्ष गर्ने उनले चेतावनी दिए ।

त्रिविमा सेमेस्टरको नाममा विद्यार्थीहरूलाई लुट्ने तर सुविधाहरू नदिने, नियमित परीक्षा हुन नसक्ने र नतिजा पनि समयमै निकाल्न नसक्ने, विद्यार्थीहरूलाई चिट चोराउने जस्ता कार्यलाई विद्यार्थी नेता र प्राध्यापकहरूले नै प्रशय दिएको उनले बताए । त्यसका विरुद्ध आफूहरूले जस्तोसुकै कदम चाल्ने उनले बताए ।  

अखिलले कब्जा गरिएको त्रिविको जमिन खाली गर्न ७२ दिनको अल्टिमेटम समेत दिएको छ । त्रिविको जमिन खाली नगरे त्यसलाई खाली गर्न आफ्नो संगठनले कडा कदम चाल्ने उनले बताए ।