भारत सरकारले घटायो सुनको भन्सार दर

काठमाडौँ  भारत सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत सुनको भन्सार दर घटाएको छ । अर्थमन्त्री निर्मला सितारमणले २०२४–२५ का लागि बजेट सार्वजनिक गर्दै सुनचाँदीको भन्सार दर हेरफेर गरेकी हुन् ।

भारतमा सन् २०२३–२४ मा सुनको भन्सार दर १४.३५  प्रतिशत थियो । यसलाई २०२४–२५ को युनियन बजेटमार्फत अर्थमन्त्री सितारमणले ५.३५ प्रतिशतमा झारेकी हुन् ।यसैगरी अर्थमन्त्री सितारमणले चाँदीको भन्सार दर समेत घटाएकी छिन् । उनले यसअघि १५ प्रतिशत रहेको चाँदीको भन्सार दर समेत घटाएर ६ प्रतिशतमा ल्याएकी हुन् । यस्तै प्लाटिनम, ओस्मिअम, इरिडिअम लगायत अन्य धातुको भन्सार दर समेत घटेर ६ प्रतिशतमा आइपुगेको छ ।

यससँगै नेपाल र भारतमा सुनको भन्सार दर भिन्नता फराकिलो बनेको छ । चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भन्सार दर बढाएर २० प्रतिशत पुर्‍याएका थिए । आर्थिक वर्ष २०८१–८१ को बजेट सार्वजनिक गर्दै उनले सुनको भन्सार दर बढेको घोषणा गरेका थिए ।त्यसअघि आर्थिक वर्ष २०८०–८१ का लागि सुनको भन्सार दर १५ प्रतिशत थियो । जुन भन्सार दर पूर्व अर्थमन्त्री डा। प्रकाशशरण महतको पालामा बढेको थियो । उनले एकै पटक सुनको भन्सार ५० प्रतिशत बढाउँदै १० बाट १५ प्रतिशत पुर्‍याएका थिए । 

यससँगै नेपालतर्फ भारतबाट सुनको तस्करी बढ्ने अड्कलबाजी हुन थालेको छ । व्यवसायीहरूले बजेट घोषणा हुँदै भारतबाट तस्करी बढ्ने जोखिम बढेको बताएका थिए । तर अब भारतले १५ प्रतिशतबाट ६ प्रतिशतमा झारेसँगै तस्करीको जोखिम झनै बढेको हो । हालसम्म नेपालमा संयुक्त अरब इमिरेट्स, चीन, कतार तथा हङकङ लगायतका मुलुकबाट सुन तस्करी हुँदै भारत जान्थ्यो । अब भारतले भन्सार दर नेपालकोभन्दा सस्तो बनाइदिएपछि भारतबाट सहजै तस्करी हुने देखिएको व्यवसायीहरू बताउँछन् ।