परीक्षाको मर्यादा कायम राख्न काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको माग

काठमाडौँ  काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षाको मर्यादा कायम राख्न माग गरेका छन् । इन्जिनियरिङ र साइन्सका विद्यार्थीहरूले परीक्षाको मर्यादा कायम राख्न माग गर्दै रजिस्ट्रारको ध्यानाकर्षण गराएका हुन् ।

विश्वविद्यालयले गत असार २७ गते स्कुल अफ इन्जिनियरिङ र साइन्सका लागि भनेर परीक्षा तालिका सार्वजनिक गरेको थियो । १५ दिनको अवधि दिएर निकालिएको उक्त परीक्षा तालिका सात दिनपछि परिवर्तन गरिएको थियो । उक्त तालिका परिमार्जनले गर्दा परीक्षा तयारी अवधिमा हेरफेर हुन गएको विद्यार्थीहरूको आरोप छ । परीक्षा नजिकै गर्दा तालिका नै हेरफेर गर्ने कार्य गैरजिम्मेवारी कार्य भएको भन्दै विद्यार्थीहरूले रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएका छन् ।

परीक्षा जस्तो संवेदनशील विषयमा आवश्यक तयारी नगरी मनपरी तरिकाले तालिका निकाल्ने काम भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । आवश्यक छलफल र समन्वयबिना फेरि तालिका परिमार्जन गर्ने कार्य गरिएको भन्दै विद्यार्थीहरूले आक्रोश व्यक्त गरेका छन् । विद्यार्थीहरूले विद्यार्थीमा भ्रम सृजना गर्ने, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम बन्द गर्न माग गरेका छन् । परीक्षाको मर्यादा विपरीतका सम्पूर्ण कुरालाई खारेज गर्न र परीक्षाको मर्यादा र निष्ठा कायम गर्न उनीहरुले माग गरेका छन् ।

प्रशासनको त्रुटिको सिकार विद्यार्थी हुनुपरेको भन्दै विभिन्न विभागका विद्यार्थीहरूले संयुक्त रूपमा विभिन्न ७ बुँदे माग अघि सारेका हुन् ।

मागहरू 

१. काठमाडौँ विश्वविद्यालयको एक चिनारी परीक्षाको मर्यादा हो, यो चिनारी जीवन्त राखियोस् ।

२. परीक्षा तालिका सार्वजनिक गरिएको १५ दिनपछि मात्र परीक्षा सञ्चालन हुने बेहोरा परीक्षा कानुनमा यथाशीघ्र उल्लेख गरियोस् ।

३ .क्रेडिट ९ऋचभमष्त जयगच० साथसाथै विषयको सामग्री अध्ययन गरी न्यायोचित ढङ्गले  परीक्षा तयारी बिदा दिइयोस् ।

४. मनपरी तरिकाले परीक्षा तालिका सार्वजनिक गर्ने र परिमार्जन गर्ने गैरजिम्मेवारपूर्ण गतिविधि रोकियोस् ।

५. कुनै खण्डमा भवितव्य त्रुटि आइपरे, परीक्षा तालिका सार्वजनिक भएको ३ दिन विभिन्न परिमार्जन गरी सार्वजनिक गरियोस् ।

६ .परीक्षा कसैको निजी सम्पत्ति होइन, कुनै सङ्कायलाई परीक्षा सम्बन्धी समस्या आए, सबै संकायको प्रतिनिधि राखी गहन छलफल र समन्वय गरी मात्र कहीँ निर्णय गर्ने ।

७.कम्पार्ड परीक्षाको तालिका ७ दिन अगाडि सार्वजनिक गरियोस् ।