देश सबै नेपालीका लागि बनाउने अभियानमा आफूहरू रहेको राजेन्द्र महतोको दाबी

बुटवल राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले यो देश सबै नेपालीका लागि बनाउने अभियानमा आफूहरू रहेको दाबी गरेका छन् ।

उनले सम्पूर्ण नागरिक अधिकार, पहिचान र सम्मानका साथ बस्न पाउनुपर्ने बताए । राष्ट्रिय मुक्ति क्रान्ति अभियान रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको संवाद कार्यक्रम नेता महतोले यस्तो बताएका हुन् । 

शासन र संविधान जनताका लागि र नेपाल सबै नेपालीका लागि बनाउन बहुल राष्ट्रिय राज्य स्थापनाबाहेक अरू कुनै उपाय नरहेको महतोले दाबी गरे । उनले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको समेत बताए । उनले सबै मिलेर अघि बढे शक्ति बढ्ने र त्यो शक्तिलाई कसैले परास्त गर्न नसक्ने बताए । उनले भने, ‘एकल चिन्तन र सोच राख्ने सरकारले त्यो शक्तिलाई परास्त गर्दैन र त्यो शक्तिले जित्छ । अब देशका जनताले जित्छन् । नेपाल सबै नेपालीका लागि बनाउनुपर्छ ।’ 


पूर्व कृषि राज्य मन्त्री तथा अभियानका नेता ओमप्रकाश (गुल्जारी) ले राष्ट्रिय मुक्ति क्रान्ति अभियानले मधेशको मात्र नभइ सबैका लागि आवाज उठाउने बताए ।