लुम्बिनी प्रदेश सरकारले पर्यटन शिखर सम्मेलन आयोजना गर्ने

दाङ– लुम्बिनी प्रदेश सरकारले पर्यटन शिखर सम्मेलन आयोजना गर्ने भएको छ । यही फागुन २८ र २९ गते सम्मेलन हुन लागेको हो ।

रुपन्देहीमा हुने सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । लुम्बिनी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने र पर्यटक बढाउने उद्देश्यले सम्मेलन गर्न लागिएको लुम्बिनी सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए । लुम्बिनी प्रदेशमा पर्यटनको धेरै सम्भावना छ । यसको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सम्मेलनले सहयोग पुर्याउने छ । पर्यटन क्षेत्रको विकास गर्न सके प्रदेशकै आर्थिक विकासमा सहयोग पुग्छ,’ उनले भने ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्नु रहेको बताए । ‘बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन’ नाम दिइएको यो सम्मेलनबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साथै लुम्बिनीको प्रतिष्ठा अभिवृद्धि हुने मुख्यमन्त्री चौधरीले विश्वास व्यक्त गरे ।

सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा नोबेल शान्ति तथा अन्य विधामा पुरस्कार जितेका, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख, विश्वव्यापी नेताहरूको सहभागिता रहने जानकारी उनले दिए । सम्मेलनबाट कुनै पनि छिमेकी राष्ट्रलाई असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता उनले जनाए । शान्ति भूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन सम्मेलन प्रभावकारी हुने उनको विश्वास छ ।

सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेता लुम्बिनी आउने निश्चित भइसकेको भनाइ छ । सम्मेलनमा करिब ३०० जना विज्ञ सहभागी हुनेछन् । यसैगरी विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार पनि सहभागी हुने बताइएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनका लागि ६ करोड ५० लाख बजेट छुट्याइए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोडभन्दा बढी खर्च नहुने मुख्यमन्त्री चौधरीले बताए । सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानीको वातावरण बनाउने विश्वास छ । सम्मेलनको अवसरमा विभिन्न देशका विज्ञले १० वटा कार्यपत्र प्रस्तुत गर्ने र लुम्बिनी घोषणापत्र जारी गर्नेछ ।